ओलीको अंहकार उस्तै: सेना, राष्ट्रपति र राज्य संयन्त्रदेखि आफ्नै सहयोद्धा र जनमतमाथि खनिए
फागुन २१ को जनमत अस्वीकार, एमाले नेतृत्व नछोड्ने घोषणा
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिएका अध्यक्ष ओलीले राज्यका प्रमुख अंग, संवैधानिक निकाय, सुरक्षा निकाय, आफ्नै दलका सहयोद्धा र आम मतदातामाथि एकसाथ कडा आक्रोश पोखेका हुन् ।
एमाले संगठन विभागद्वारा बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ओलीले लामो र आक्रोशपूर्ण सम्बोधन गरे । मञ्चमा आफ्ना विश्वासपात्र मानिने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दायाँ–बायाँ राखेर सम्बोधन गरेका ओलीको हाउभाउ र अभिव्यक्तिमा पार्टीभित्र र बाहिरको वर्तमान परिस्थितिलाई लिएर तीव्र असन्तुष्टि र आक्रोश प्रष्ट देखिन्थ्यो ।
तत्काल नेतृत्व नछाड्ने घोषणा: सहयोद्धा र नेतृत्व पंक्तिलाई चेतावनी
पार्टीभित्र पुनर्गठन र नेतृत्व परिमार्जनको बहस चलिरहेका बेला अध्यक्ष ओलीले तत्काल आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दायाँ–बायाँ राखेरलाई पार्टी विधि, प्रक्रिया र विधानसम्मत चल्ने भन्दै नेता तथा कार्यकर्ताहरूलाई मनपरी नबोल्न निर्देशन दिए ।
'हाम्रो नीति र विश्लेषण सही छन् । त्यसका निम्ति हाम्रा विचारमा एकताबद्ध हुनुपर्छ । कोही यता फर्केको, कोही उता फर्केको, कोही एकथोक बोल्ने, कोही अर्कोथोक बोल्ने होइन,' ओलीले चेतावनीपूर्ण भाषामा भने, 'मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने आशङ्का मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई सफलतामा पुर्याएर मात्र विश्राम लिनेछु ।'
ओलीले आफ्नो स्वास्थ्यका विषयमा अनेक टिकाटिप्पणी भए पनि आफू स्वस्थ रहेको बताए। ‘अलिकति टाउको दुख्यो भने पनि, टाउको दुखेको थाहा पाएपछि अब मर्छ, मर्छ भनेको पनि धेरै भइसक्यो। मर्ने छाँट त देखिँदैन, बरु। म अब स्वस्थ छु,’ ओलीले भने।
अप्ठ्यारो परिस्थिति आउँदा निरास नबन्न उनले नेता तथा कार्यकर्तालाई सचेत गराए। ‘हामी एमालेहरू सजिलो परिस्थिति आयो भने फुरुङ्ग परिहाल्ने, केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा निस्केर दशैँ आयो भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मच्चाउने, अनेक निहुँ खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै जनताका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारका हुनुहुँदैन,’ उनले भने।
पार्टीभित्र समीक्षा गर्नुपर्नेमा केही नेताहरु आत्मभर्त्सना गरेर बसिरहेको आरोप लगाए । 'कतिपय साथीहरूमा अन्योल देखा पर्यो। विरोधीले कत्रो हमला गरिरहेको छ। कसरी हमला गरेको छ त्यो कुरा नबुझ्ने अनी आफ्नै आत्मभर्सना गर्ने? आफैले के-के गरियो, कमी गरियो भनेर भर्त्सना गर्ने? केही पाइएन भने शीर काटेर टेबुलमा राखिदियो, शीर बिनाको भयो भने हाम्रो पार्टी मज्जाले अगाडि बढ्छ कुद्छ भन्ने भ्रम पालिरहेका छौं,' उनले भने।
समीक्षा हुनुपर्ने तर त्यसको उद्धेश्य पार्टीलाई चुस्त राख्ने उद्धेश्यले हुनुपर्ने उनले बताए। 'अगाडि आइपर्ने समस्याको समाधान गर्ने कि हाम्रै कमजोरी हो, हामी नै अगतिला हौं। हाम्रो घर जलाएको ठीकै हो, हामीले घर जलाउन किन रोक्न सकेनौं? यस्ता कुरा गरेर हुन्छ? सिंहदरबार जलाउन किन रोक्न सकेनौं भनेर हुन्छ? सेनाले रोक्न सकेन हामी के गरेर रोक्छौं?,' उनले भने।
फागुन २१ को जनमत अस्वीकार: चुनाव होइन, पहिले नै सेटिङ गरिएको तमासा
अध्यक्ष ओलीले फागुन २१ मा सम्पन्न निर्वाचनको वैधानिकता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै चुनावी परिणामलाई अस्वीकार गरे । उनले देशमा चुनावका नाममा 'तमासा' मात्रै भएको र मत परिणाम पहिले नै सेटिङ गरिएको दाबी गरे । 'यो चुनाव चुनाव जस्तो थिएन, केवल एउटा तमासा थियो। जुन परिणाम अहिले देखिएको छ, यो पूर्वनिर्धारित परिणाम थियो । जनताको वास्तविक मतलाई रोकेर सत्ता र शक्तिको आडमा परिणाम पहिले नै सेटिङ गरिएको थियो,' ओलीले आक्रोश व्यक्त गरे।
उनले निर्वाचन आयोग र सरकार निष्पक्ष चुनाव गराउन पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै एमालेलाई घेराबन्दी गर्न धांधली गरिएको बताए । साथै, तत्कालिन सुशीला कार्की नेतृत्वको असंवैधानिक सरकारलाई आफूहरूले कहिल्यै नसारेको तर आफ्नै पार्टीका कतिपय पंक्ति र अन्य दलले त्यो षड्यन्त्र बुझ्न नसक्दा अहिलेको परिणाम आएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष र धांधलीरहित वातावरणमा गराउन निर्वाचन आयोग र सरकार पूर्ण रूपमा असफल भएको आरोप समेत लगाए। उनले थपे, ‘जनता परिवर्तनको पक्षमा हुँदाहुँदै पनि विभिन्न प्रपञ्च र धाँधली गरेर मत परिणामलाई तोडमरोड गरियो। एमालेलाई घेराबन्दी गरेर कमजोर बनाउन चालिएका यस्ता कदमहरू लोकतन्त्रका लागि घातक छन्।’
छानबिन आयोगप्रति ठाडो चुनौती: जे जे गर्न सक्छ गरोस्
विपक्षी दलका नेताहरूलाई फसाउनका लागि राज्यले पूर्वाग्रही ढंगले सम्पत्ति छानबिन आयोग गठन गरेको आरोप लगाउँदै ओलीले त्यसलाई मान्यता नदिने र बयान समेत नदिने घोषणा गरे । 'यो राज्य राज्य होइन, पूर्वाग्रह र प्रतिशोधको पोको हो । म चाहिँ बयान दिन्नँ र सम्पत्ति विवरण भरेर पनि पठाउँदिनँ, जे जे गर्न सक्छ गरोस्,' ओलीले भने, सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन? मेरो सम्पत्ति विवरण खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?'
यसैगरी, विगतको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति पनि उनले प्रश्न उठाए । कार्कीले पहिले नै 'फलानालाई कारबाही गर्नुपर्छ' भनेर बोलेकाले आफूले बयान नदिएको तर आयोगले झुटो रूपमा 'बयान दियो' भनेर छापेको जिकिर ओलीले गरे ।
सेनाको भूमिकामाथि प्रश्न र राष्ट्रपति पौडेलमाथि 'रबरस्ट्याम्प' को आरोप
अध्यक्ष ओलीले नेपाली सेनाको भूमिकामाथि पनि असन्तुष्टि जनाएका छन् । सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएको भन्दै उनले सेनालाई मर्यादित ठाउँमा बस्न सुझाव दिए । उनले भने, 'बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ ।'
त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै ओलीले राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेको र 'बडो जुक्तिले लोकतन्त्र बचाएँ' भन्दै एकपछि अर्को कदमबाट लोकतन्त्र सिध्याउने काम गरिरहेको आरोप लगाए । ' प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ, अनि सम्मानित राष्ट्रपतिजी भन्नुहुन्छ– बडो जुक्तिले लोकतन्त्र बचाएँ,' ओलीले थपे, 'संविधानको रक्षक हुनुपर्नेमा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जे मा पनि हस्ताक्षर गर्ने काम गरिरहनुभएको छ । बडो जुक्तिकै साथ लोकतन्त्र सिध्याउने काम भएको छ, जुन एमालेलाई मान्य छैन ।'
राज्य संयन्त्रलाई चेतावनी
सम्बोधनको अन्त्यमा अध्यक्ष ओलीले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न कडा चेतावनी दिए । समय र परिस्थिति सधैं एकैनासको नरहने भन्दै उनले वर्तमान सत्ता र अराजकता धेरै दिन नटिक्ने दाबी गरे । 'राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,' ओलीले चेतावनी दिँदै भने, 'यो अराजकतन्त्र कति समयको पाहुना हो र? यो धेरै चल्न सक्दैन । राज्य संयन्त्रका मानिसहरू उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला ।'
.gif)

.png)

