राष्ट्रियसभामा पनि प्रतिपक्षीको अबरोध जारी

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित


२०८३ जेठ २० बुधबार १४:५५ बजे

काठमाडौँ :  राष्ट्रियसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएकाे अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले बैठकमा अवरोध गरेपछि राष्ट्रियसभा कार्यसूचीमा प्रवेश गर्न नसकेको हो ।

आजको बैठकका लागि विभिन्न महत्त्वपूर्ण विधेयक र छलफलका एजेन्डाहरू तय गरिएका थिए । कार्यसूची अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यक्रम रहेको थियो ।

यसैगरी, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । साथै, अर्थमन्त्री वाग्लेले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने गरी कार्यसूची तय गरिएको थियो ।

सांसदहरूले बेल घेराउ र नाराबाजीसहित अवरोध गरेपछि अध्यक्ष दाहालले विपक्षी दलका सांसदहरूलाई निर्धारित कार्यसूची अगाडि बढाउन पटक-पटक आग्रह गरे । तर, अध्यक्षको आग्रहका बाबजुद विरोध र गतिरोध जारी रहेपछि बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७