दरपीठ विरूद्धको निवेदन दर्ता नगरेको भन्दै बारले गरायो सर्वोच्चको ध्यानाकर्षण
काठमाडौं : केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दरपिठ नगरेकोमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ । महासचिव केदारप्रसाद कोइरालाद्वारा आज जारी विज्ञप्तिमा विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेस भएका निवेदन प्रशासनले दर्ता नगरेकामा ध्यानाकर्षण गराएको उल्लेख छ ।
‘विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताको लागि पेस भएका निवेदन प्रशासनबाट दरपीठ गरी दर्ता गर्न अस्वीकार हुने, सोपश्चात दरपीठ विरूद्ध कानून अनुसार इजलाससमक्ष सम्बन्धित शाखामा निवेदन सहितको फाइल पेस गरेकोमा सम्मानित सर्वोच्च अदालतको प्रशासनले दर्ता वा दरपीठ दुबै नगरी मौनता साँधी आएको भनी यस एसोसिएसनमा निवेदन दर्ता हुन आएको हुँदा यसका सम्बन्धमा सर्वोच्च अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
संविधानले दिएको अधिकार र न्यायमा अवरोध नहोस् भनेर दरपीठ निवेदनको निकास दिन र न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न पनि ध्यानाकर्षण गराएको छ। ‘संविधानप्रदत्त अधिकार र न्यायमा अवरोध नहोस् भनी अविलम्ब दरपिठ निवेदनउपर निकास दिन एवं न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न तथा न्यायको प्रवाह निरन्तर रहोस् भनी यस एसोसिएसन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।
.gif)

.png)

