४८ घण्टाभित्रै अमेरिका र इरानबीच शान्ति सम्झौता हुनसक्ने
अर्बौं डलरको सम्पत्ति फुकुवा हुने संकेत
काठमाडौंः अमेरिका र इरानबीचको जारी तनाव अन्त्य गर्न दुवै देश १४ बुँदे सम्झौताको नजिक पुगेका छन्। रोयटर्सका अनुसार आगामी ४८ घण्टाभित्र यसबारे आधिकारिक घोषणा हुने सम्भावना छ। यो सम्झौताका लागि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ, जसको प्रयासमा गत महिना पाकिस्तानमै शान्ति वार्ताको जग बसालिएको थियो।
सम्झौताका मुख्य बुँदाहरू
– इरानले आफ्नो आणविक संवर्धन कार्यलाई अस्थायी रूपमा रोक्ने।
–अमेरिकाले इरानमाथिका केही प्रतिबन्धहरू हटाउने र रोक्का गरिएको अर्बौं डलरको
सम्पत्ति फुकुवा गर्ने।
– होर्मुज जलमार्गमा जहाजहरूको निर्वाध आवतजावत सुनिश्चित गर्ने।
यो सम्झौता अन्तर्गत सुरुमा ३० दिनको वार्ता अवधि तोकिनेछ। यदि वार्ता सफल नभएमा अमेरिकाले पुनः कडा प्रतिबन्ध वा सैन्य कदम चाल्ने सर्त राखेको छ। वार्तामा अमेरिकी दूत स्टिभ विट्कोफ र जेरेड कुशनर लगायतका उच्च अधिकारीहरू संलग्न छन्। यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा सञ्चालित ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य अभियानलाई अस्थायी रूपमा रोकेर सकारात्मक सङ्केत दिएका छन्।
सम्झौताको खबर बाहिरिएसँगै विश्व बजारमा उत्साह देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ प्रतिशतले गिरावट आई प्रतिब्यारेल १०० डलर आसपास पुगेको छ भने शेयर बजारमा पनि सुधार देखिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि आफूहरू न्यायसंगत र पूर्ण सम्झौताको पक्षमा रहेको स्पष्ट पारेका छन्।
.gif)

.png)

