एमाले सुदूरपश्चिम संसदीय दलमा विवादमा ओलीको हस्तक्षेप

छलफलका लागि सांसदलाई बोलाइयो गुण्डु


२०८३ बैशाख २३ बुधबार ०९:२९ बजे

काठमाडौँ :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको संसदीय दलभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि सक्रियता देखाएका छन्। प्रदेशका ११ जना सांसदहरूलाई आज बिहान ११ बजे भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बोलाएर ओलीले निर्णायक छलफल गर्न लागेका हुन्।यो बैठकलाई सुदूरपश्चिम सरकारमा एमालेको सहभागिता, नेतृत्व परिवर्तन र भावी रणनीतिका दृष्टिले निकै महत्त्वका साथ हेरिएको छ।

पछिल्लो समय सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने माग राख्दै केही सांसदहरूले केन्द्रमा दबाब बढाउँदै आएका थिए। हालका दलका नेता राजेन्द्रसिंह रावललाई विस्थापित गरेर नयाँ नेतृत्व ल्याउने विषयमा आजको बैठकमा गहन बहस हुने सम्भावना छ।

दलको नेताका लागि उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्लले बलियो दाबेदारी प्रस्तुत गरेका छन्। यस्तै, धर्म पाठक र मन्त्री सुरेन्द्र पाल पनि नेतृत्वको दौडमा रहेको चर्चा छ। तर, सांसदहरूबीच नै एकमत नभएका कारण अध्यक्ष ओलीले लिने निर्णय नै अन्तिम हुने देखिन्छ।

बैठकको अर्को मुख्य एजेन्डा मन्त्रीहरूको हेरफेर हो। वर्तमान चार मन्त्रीको दुई वर्ष पूरा भइसकेको र नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग सांसदहरूले राख्दै आएका छन्। बजेट आउनुअघि नै मन्त्रिमण्डल पुनर्गठन गरेर असन्तुष्टि सम्बोधन गर्ने ओलीको तयारी रहेको बुझिएको छ।

साथै, कम्युनिस्ट पार्टीहरूबीचको बृहत्तर सहकार्य र त्यसको सुरुवात सुदूरपश्चिमबाटै गर्नेबारे पनि अध्यक्ष ओलीले सांसदहरूसँग परामर्श गर्नेछन्।

काठमाडौँमा उपलब्ध सबै सांसदहरूलाई एजेन्डाबारे ठोस जानकारी नदिई बोलाइए पनि दलको नेता रावलले भने यसलाई 'समसामयिक विषयमा केन्द्रित नियमित छलफल' मात्र भएको दाबी गरेका छन्। यद्यपि, गुण्डुको यो बैठकले सुदूरपश्चिम एमालेमा ठुलो फेरबदल ल्याउने निश्चित देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७