दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौं : नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उनलाई हालकै अवस्थामा थुनामै राख्न आदेश दिएको हो ।
आदेशमा निवेदकलाई हाल जे–जुन अवस्थामा राखिएको छ, सोही अवस्थामा यथास्थितिमा राख्न भनिएको उल्लेख छ।
आजको सुनुवाइमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ता प्रकाश रेग्मीले बहस गरेका थिए। त्यसैगरी नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले पनि बहस गरेका थिए।
खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका खड्कालाई जेनजी आन्दोलनका क्रममा घरमा बरामद भएको रकमसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ।
उनको घरमा आगजनीपछि जलेका नोटका टुक्रा, खरानी तथा अन्य प्रमाणहरू भेटिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। जेनजी आन्दोलनका क्रममा उनको घरमा तोडफोड र आगजनी भएको थियो भने सो क्रममा जलेका तथा सग्ला नोटसमेत देखिने भिडियोहरू सार्वजनिक भएका थिए।
.gif)

.png)

