उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धि : आइएइए


२०८३ बैशाख २ बुधबार १६:०६ बजे

काठमाडौँ : अन्तर्राष्ट्रिय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाको आणविक हतियार उत्पादन क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ भइरहेको चेतावनी दिएका छन् । 

पछिल्ला निरीक्षण र मूल्याङ्कनले देशको सम्बर्द्धन तथा पुनः प्रशोधन गतिविधि तीव्र रूपमा बढिरहेको देखाएको हो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफाएल ग्रोसीले बुधबार सियोलमा पत्रकार सम्मेलन गर्दै उत्तर कोरियाले आणविक हतियार विकासतर्फका प्रमुख संरचनाहरू सक्रिय रूपमा विस्तार गरिरहेको बताए । उनका अनुसार यो परिवर्तनले देशको रणनीतिक क्षमता उल्लेखनीय रूपमा बढिरहेको सङ्केत गर्छ ।

दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार कूटनीतिक रूपमा अलग रहेको उत्तर कोरियाले युरेनियम सम्बर्द्धनका लागि धेरै सुविधाहरू सञ्चालन गरिरहेको अनुमान गरिएको छ । जुन आणविक हतियार निर्माणको अत्यन्त महत्त्वपूर्ण चरण हो । तीमध्ये योङब्योन परमाणु स्थल पनि समावेश छ, जसलाई प्योङयाङले अघिल्ला वार्तापछि निष्क्रिय बनाएको दाबी गरेको थियो तर सन् २०२१ मा पुनः सक्रिय गरिएको बताइन्छ ।

ग्रोसीका अनुसार आइएइएले आफ्नो आवधिक मूल्याङ्कनका क्रममा योङब्योन रिएक्टरको सञ्चालनमा तीव्र वृद्धि भएको पुष्टि गरेको छ । साथै, पुनःप्रशोधन एकाइ र हल्का पानी रिएक्टरमा पनि गतिविधि बढेको देखिएको छ भने अन्य सम्बन्धित संरचनाहरू समेत सक्रिय अवस्थामा रहेको पाइएको छ ।

उत्तर कोरियाले सन् २००६ मा पहिलो आणविक परीक्षण गरेयता लगातार आफ्नो प्रतिबन्धित आणविक कार्यक्रम विस्तार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूका बावजुद प्योङयाङले आफ्नो आणविक हतियार कहिल्यै त्याग्ने छैन भन्ने अडान दोहोर्‍याउँदै आएको छ ।

यसैबीच, उत्तर कोरियाको आणविक विकासमा रूसको सम्भावित भूमिका सम्बन्धी प्रश्नमा ग्रोसीले आइएइएले हालसम्म त्यसबारे कुनै ठोस प्रमाण नदेखेको स्पष्ट पार्नुभयो ।

यद्यपि, विश्लेषकहरूका अनुसार उत्तर कोरियाले युक्रेनमा रूसको सैन्य अभियानलाई समर्थन गर्न सैनिक र तोपखाना सहयोग पठाएको छ भने त्यसको बदलामा मस्कोबाट सैन्य प्रविधि सहायता प्राप्त गरिरहेको आशङ्का गरिएको छ । यस्तो पृष्ठभूमिमा उत्तर कोरियाको आणविक कार्यक्रम थप संवेदनशील अन्तर्राष्ट्रिय मुद्दा बनेको देखिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७