नवनिर्वाचित सभामुख डीपी अर्यालले लिए शपथ


२०८२ चैत २२ आइतबार १५:५५ बजे

काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

अर्याल आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । अन्य उम्मेदवारी नपरेपछि सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनको निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

गएको फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका अर्याल यसअघि समानुपातिकतर्फबाट सांसद बनेका थिए । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

सभामुख बन्नुअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति थिए । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला उनले पार्टी नेतृत्व सम्हालेका थिए ।

सभामुखको शपथ भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। नियमअनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ।

प्रतिनिधिसभामा हाल रास्वपासहित ६ दलको प्रतिनिधित्व छ। उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ लिने व्यवस्था छ।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को सदस्य हुने भएकाले उपसभामुख कुन दलबाट चयन हुन्छ भन्ने विषयलाई महत्त्वका साथ हेरिन्छ । नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको सिफारिस गर्ने व्यवस्था छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७