जेनजी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई


२०८२ चैत १२ बिहीबार १०:०६ बजे

काठमाडौँ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक कदम भएको बताएका छन्। सुशीला कार्की नेतृत्वको कामचलाउ सरकारले कार्यकालको अन्त्यतिर ९०७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले प्रतिवेदनले घटनाको भित्री पक्ष र राज्य संयन्त्रका कमजोरी उजागर गरेको उल्लेख गरेका छन्। उनका अनुसार विस्तृत अध्ययनपछि भदौ २३ को घटनामा तत्कालीन सरकारको गम्भीर त्रुटि देखिएको र ‘टीओबी’समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको निष्कर्ष निकालिएको छ।

भट्टराईले भदौ २४ को घटनामा राज्यका सबै अंग असफल भएको तथ्य प्रतिवेदनले पुष्टि गरेको बताएका छन्। 'विशेष गरी ‘युथ एगेन्स्ट करप्सन’, ‘युवा हब’ र ‘हामी नेपाल’ जस्ता संस्थाले भदौ २२ गतेदेखि नै ‘डिस्कोर्ड’ मार्फत हिंसाको तयारी गरेको विस्तृत विवरण प्रतिवेदनमा छ,' उनले भनेका छन्। सो क्रममा सुदन गुरुङको भूमिकालाई आयोगले विशेष रूपमा उल्लेख गरेको दाबी गरिएको छ।

आयोगले दोषीमाथि कारबाही, उत्कृष्ट काम गर्नेलाई पुरस्कार तथा दीर्घकालीन शासकीय सुधारका लागि विभिन्न सिफारिस गरेको छ। भट्टराईले अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका लागि प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण भए पनि महत्वपूर्ण अवसर भएको बताएका छन्।

'देश र जनताको हितमा यो प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्‍याउने भन्ने अब बन्ने रास्वपा सरकारको हातमा छ,' भट्टराईले उल्लेख गरेका छन्।

लामो समयसम्म गोप्य राखिएको भनिएको प्रतिवेदन सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। विशेषगरी युवा परिचालन र प्रविधिको दुरुपयोगमार्फत सामाजिक सद्भावमा असर पार्ने गतिविधिबारे उठेका प्रश्नमा अबको सरकारको कदम के हुने भन्ने चासो बढेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७