वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयको आग्रह : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू
काठमाडौं : पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा उल्लेख्य रूपमा बढेको छ।
श्वासप्रश्वास र छालामार्फत शरीरभित्र प्रवेश गर्ने यी सूक्ष्म तथा हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने उनले बताए।
मन्त्रालयका अनुसार प्रदूषणका कारण ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगीहरू उच्च जोखिममा छन्। उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनाइएको छ।
‘यसले सामान्य आँखा दुख्ने, पाक्ने र दृष्टिमै नोक्सान पुर्याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसमेत गराउन सक्छ,’ प्रवक्ता डा. बुढाथोकीले भने।
बिहान र बेलुका बाहिर ननिस्कन सुझाव
प्रदूषणबाट जोगिन मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ। उक्त समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको हो।
बाहिर निस्कनै परेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन र छालालाई प्रदूषणबाट जोगाउन शरीर ढाकिने गरी कपडा तथा टोपी लगाउन पनि मन्त्रालयले सुझाव दिएको छ।
वायु प्रदूषण न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग समन्वय र पैरवी गरिरहेको जनाएको छ।
प्रवक्ता बुढाथोकीका अनुसार उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन तथा वातावरण मन्त्रालयसँग प्रदूषण नियन्त्रणका विषयमा निरन्तर छलफल भइरहेको छ।
सवारीसाधनबाट निस्कने धुवाँ, कलकारखानाको उत्सर्जन, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण नियन्त्रण कठिन हुने मन्त्रालयले जनाएको छ। यस्ता गतिविधि रोक्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट जोगिन शरीरलाई सुरक्षित राख्नु नै उत्तम विकल्प भएको मन्त्रालयको भनाइ छ।
.gif)

.png)

