मतदान लगत्तै हेलिकप्टरमार्फत झापा जाँदै बालेन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौँमा आफ्नो मताधिकार प्रयोग गरेपछि हेलिकप्टरमार्फत झापा जान लागेका छन् । बालेनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुल मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान सकिएलगत्तै बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा प्रस्थानको तयारीमा रहेको सुरक्षा स्रोतले जनाएको छ।
रास्वपाका तर्फबाट बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको प्रतिस्पर्धा हुँदैछ।
रास्वपाले आगामी निर्वाचनपछि बन्ने सरकारका लागि बालेनलाई सम्भावित प्रधानमन्त्रीका उम्मेदवार रूपमा अघि सारेको छ। त्यसैले पनि यो निर्वाचनमा बालेनको गतिविधि र अभियानलाई विशेष चासोका साथ हेरिएको छ।
झापा–५ लाई लामो समयदेखि एमाले अध्यक्ष ओलीको बलियो राजनीतिक गढ मानिन्छ। तर काठमाडौँ महानगरको मेयरका रूपमा बालेनले देखाएको कार्यशैली र युवा पुस्तामाझको बढ्दो लोकप्रियताले यसपटकको प्रतिस्पर्धालाई निकै रोचक बनाएको विश्लेषकहरू बताउँछन्।
मतदानपछि झापा पुगेका बालेनले आफ्ना मतदातासँग भेटघाट गर्ने तथा निर्वाचनपछिको प्रक्रियामा सक्रिय रूपमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। यसैबीच, झापा–५ मा ओली र बालेनबीचको प्रतिस्पर्धालाई यसपटकको निर्वाचनकै सबैभन्दा चासोपूर्ण भिडन्तका रूपमा हेरिएको छ।
.gif)

.png)

