मलाई कांग्रेस, एमाले, माओवादी र घण्टी समर्थक सबैको भोट चल्छ : राजेन्द्र लिङ्देन
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले भ्रष्टाचार विरोधी अभियानलाई निष्ठाको विषय बनाएको बताएका छन् । सोमबारदेखि सुरु गरेको घरदैलो अभियानमा लिङ्देनले भ्रष्टाचार गर्न नहुने मान्यतालाई व्यवहारमै लागू गरेको बताए ।
हल्दीबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू यहीँको धुलो–माटोमा हुर्किएको, अभाव झेलेको र गाउँको विकासका लागि निरन्तर खटिएको स्मरण गराए । उनले भने, 'क्लबको अध्यक्षदेखि देशको उपप्रधानमन्त्रीसम्म बन्दा पनि आफूमाथि कुनै भ्रष्टाचारको दाग लागेको छैन र कुनै पनि शक्ति पीठमा गएर कसम खान सक्ने सामर्थ्य मसँग रहेको छ ।'
उपस्थित मतदातालाई लिङ्देनले दलीय घेराभन्दा माथि उठेर भोट हाल्न आग्रह गरे । 'मलाई कांग्रेस, एमाले, माओवादी र घण्टी समर्थक सबैको भोट चल्छ । म यो क्षेत्रको साझा उम्मेदवार हुँ,' उनले भने ।
उनले मतदातालाई भावुक अपिल गर्दै भने, योग्य उम्मेदवारलाई मतदान नगरेमा भविष्यमा पछुतो मात्र नभई राति ऐठन पनि हुन सक्ने चेतावनी दिए ।
अध्यक्ष लिङ्देनले गत आठ वर्षमा यस क्षेत्रको पूर्वाधार विकासमा भएको प्रगति सबैले देख्न सक्ने उल्लेख गर्दै बाँकी रहेका काम पूरा गर्ने जिम्मा आफ्नो भएको बताए । देश अहिले अस्तित्वको सङ्कटमा रहेको स्मरण गराउँदै उनले राष्ट्रियता र धर्म रक्षाका लागि राप्रपा दृढताका साथ उभिएको पनि बताए ।
मतदातालाई फेसबुक र टिकटकका रिल मात्र हेरेर धारणा नबनाइ, उम्मेदवारको निष्ठा र कामको आधारमा मतदान गर्न आग्रह गर्दै लिङ्देनले आगामी ५–६ वर्षभित्रै देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गरे । अन्तिम पटक आशीर्वाद दिन पनि उनले मतदातासँग अनुरोध गरे ।
.gif)

.png)

