जसपा नेपाल र लोसपाबीच एकीकरण : उपेन्द्र अध्यक्ष, महन्थ संरक्षक


२०८२ पौष २७ आइतबार १८:०९ बजे

काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बीच पार्टी एकीकरण गर्ने औपचारिक सहमति भएको छ ।

दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूले काठमाडौँमा बसेको संयुक्त बैठकले सहमतिमा पुर्‍याएको हो।

एकीकरणको सम्झौता पत्रमा भनिएको छ, ‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय जस्ता अग्रगामी मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्न एकीकरण आवश्यक ठहरिएको छ।’

केन्द्रीय समन्वय समिति ४३ सदस्यीय रहने र केन्द्रीय समन्वय समितिले आफूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने पनि सहमति भएको छ ।

दुवै पार्टीमा रहेको केन्द्रीय समिति समायोजन नहुन्जेलसम्मका लागि केन्द्रीय समन्वय समिति पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक समिति हुने र सांगठनिक संरचना जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयानुसार कार्य गर्ने सहमति भएको छ ।

पार्टी संगठन र पार्टीप्रति आवद्ध संगठनबीच समायोजन नहुन्जेलसम्म आआफ्नो स्थान र कार्यक्षेत्रमा पार्टीको मातहत रही क्रियाशील रहन पनि सहमति भएको छ ।

२०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको उमेदवारका लागि पेस गरिने मनोनयन पत्रमा समन्वय समितिबाट हुने निर्णयानुसार हस्ताक्षर महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा गर्ने पनि सहमति भएको छ ।

यस्तै, पार्टीको चुनाव चिह्न छाता रहने, पार्टीको झन्डामा (माथि रातो बीचमा सेतो र तल्लो भागमा हरियो) हुने र झन्डाको बीच भागमा ढल्केको छाता रहने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७