कीर्तिपुर रङ्गशालाको सम्झौता ‘नहुने’ भएपछि स्थायी मैदानको खोजीमा क्यान


२०८२ पौष २० आइतबार २१:५८ बजे

काठमाडौँ : कीर्तिपुर क्रिकेट मैदान प्रयोग गर्ने सम्बन्धी त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट सङ्घ (क्यान) बीचको २५ वर्षे सम्झौता आगामी वैशाख १ बाट समाप्त हुँदैछ।

विश्वविद्यालयले सम्झौता नवीकरण नगर्ने तयारी गरेको चर्चा तीव्र बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पनि विश्वविद्यालय मूलतः पढाइको केन्द्रित हुने भएकाले खेल गतिविधिले त्यसमा असर पुर्‍याएको र विकल्प खोज्नुपर्ने बताएका थिए । 

क्यानले डेढ वर्षदेखि सम्झौता नवीकरण प्रक्रिया अघि बढाएको भए पनि अहिलेसम्म ठोस निष्कर्षमा पुगेको छैन। गत वर्ष सरकारले झन्डै एक अर्ब रुपैयाँ खर्च गरेर १० हजार क्षमता भएको रङ्शाला र फ्लडलाइट जडान गरेको थियो। यस्तो अवस्थामा पनि मैदानको भविष्यबारे विवादले चिन्ता थपेको छ।

क्यानका अधिकारीहरूले त्रिवि तर्फबाट आउने 'अतिरिक्त माग'ले समस्या बढाएको बताएका छन् । क्यानले अब स्थायी मैदानको खोजी थालेको क्यानका सचिव पारस खड्का बताउँछन्, 'सरकारले क्यानलाई स्थायी स्थान उपलब्ध गराए समस्या समाधान हुनेछ।' 

कीर्तिपुर मैदान सुरुमा खाली थियो र खेल सञ्चालन हुँदा त्रिविलाई अप्ठेरो थिएन । तर हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल बढ्दै गएपछि दर्शकहरूको भीडले विश्वविद्यालयको दैनिक गतिविधिमा असर पुर्‍याएको अधिकारीहरूले बताएका छन्।

त्रिवि खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुली भन्छन्, 'खेल हुने समयमा विद्यार्थी र शिक्षक प्रवेशमा समस्या भइरहेका छन्। सम्झौताका बुँदा पूर्ण रूपमा पालना भएको छैन। विश्वविद्यालयको प्राथमिकता के हो भन्ने कुरा ध्यानमा राखेर निर्णय गर्नुपर्छ।"

युवा तथा खेलकुद मन्त्रालयले गत वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत त्रिवि पदाधिकारीसँग छलफल गरिसकेको छ। तर अहिलेसम्म सम्झौता नवीकरणमा ठोस निर्णय आएको छैन।

पराजुली थप्छन्,'सम्झौता नवीकरण गर्नु अघि क्रिकेटले विश्वविद्यालयमा कस्तो दीर्घकालीन प्रभाव पार्छ, त्रिविको प्राथमिकता र असहजतालाई कसरी समाधान गर्ने भन्ने विषयमा गहन छलफल आवश्यक छ । सबै पक्षसँग छलफलपछि मात्र निर्णय सम्भव हुनेछ।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७