बिहीबारको एनपिएल : यस कारण फरक जर्सीमा जनकपुर र पोखरा
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे खेल हुनेछ।
उक्त खेलमा दुवै टिमका खेलाडी फरक रङका विशेष जर्सीमा देखिने भएका छन् । पोखरा एभेन्जर्सका अनुसार वातावरण संरक्षण र मानवीय संवेदनालाई जोड दिने उद्देश्यले यी जर्सी डिजाइन गरिएको हो ।
पोखरा एभेन्जर्सका खेलाडीले खेलमा हरियो जर्सी लगाउने छन् । ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरूको महत्त्वबारे सन्देश दिन यो जर्सी तयार गरिएको हो । नेपाल जलवायु परिवर्तनको जोखिममा रहेको मुलुक भएकाले हिमनदी संरक्षण अभियानलाई खेलमार्फत बलियो रूपमा प्रस्तुत गर्न खोजिएको टोलीका अध्यक्ष सुबोध त्रिपाठीले बताए।
त्यस्तै, जनकपुर बोल्ट्स भने गुलाबी रङको जर्सीमा उत्रिनेछ । यो जर्सी सबै आमाहरूप्रति सम्मान व्यक्त गर्न तयार गरिएको जनकपुर टोलीले जनाएको छ। साथै जनकपुरका खेलाडीले लगाउने जर्सीमा आफ्नो नामको सट्टा आमाको नाम अङ्कित हुनेछ ।
खेलपछि दुवै टोलीका जर्सी अक्सन मार्फत् बिक्री गरिनेछन् । पोखरा एभेन्जर्सको जर्सीबाट उठेको रकम ‘ग्लासियर्स म्याटर’ अभियानमा खर्च हुनेछ भने जनकपुर बोल्ट्सको जर्सी बिक्रीबाट संकलित रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूलाई सहयोग स्वरूप प्रदान गरिनेछ।
.gif)

.png)

