हसिनाका अभिव्यक्तिले हिंसा भड्काउन सक्ने भन्दै बंगलादेशमा समाचार प्रकाशनमा प्रतिबन्ध
काठमाडौं : बंगलादेश सरकारले मृत्युदण्डको सजाय पाएकी पूर्वप्रधानमन्त्री शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न देशभरका सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको छ ।
राष्ट्रिय सुरक्षाको कारण देखाएर त्यहाँको अन्तरिम सरकारले देशका सबै सञ्चारमाध्यम (प्रिन्ट, टिभी र अनलाइन)लाई हसिनाका अभिव्यक्ति प्रकाशन÷प्रसारण नगर्न कडा निर्देशन दिएको छ।
राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए) ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शेख हसिनालाई अब दोषी र फरार घोषणा गरिएको बताएको छ।
विज्ञप्तिअनुसार, उनको अभिव्यक्तिले हिंसा भड्काउन, अशान्ति फैलाउन र देशमा सामाजिक सद्भाव बिगार्न सक्छ।
अर्कातर्फ, अन्तरिम सरकारले अब हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई देश फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिनेछ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का अभियोजक गाजी एमएच तमिमले फैसला र पक्राउ वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा पेस गर्ने बताएका छन्।
बंगलादेशको अदालतले सोमबार पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमलविरुद्ध मृत्युदण्डको फैसला गरेको छ।
.gif)

.png)

