रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित दर्जनौँ नेता चार वर्षपछि एमालेमा फर्किए
काठमाडौँ : नेकपा (एमाले)का पूर्वनेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ र पिताम्बर तिमल्सिनासहितका दर्जनौँ नेता चार वर्षपछि पार्टीमा फर्किएका छन् । उनीहरू सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा पुनः एमालेमा प्रवेश गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्रीलगायतलाई पार्टीको झन्डा प्रदान गरी स्वागत गरे । २०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । त्यस बेला झाँक्रीले नेपाललाई साथ लिँदै अघि बढाएको दृश्य चर्चित बनेको थियो । तर, पछिल्ला वर्षहरूमा एकीकृत समाजवादीमा असन्तुष्टि बढ्दै गएपछि उनीहरू पुनः एमाले फर्किएका हुन् ।
कार्यक्रममा एमालेले ‘घर फर्क राष्ट्रिय अभियान’को घोषणा पनि गरेको छ । पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार यो अभियान देशभर चरणबद्ध रूपमा सञ्चालन गरिनेछ । अध्यक्ष ओलीले विगतमा पार्टी छाडेका सबैलाई पुनः फर्कन आह्वान गर्दै एमालेलाई एकताबद्ध बनाउन सबैले योगदान दिनुपर्ने बताए ।
यसबीच, नेकपा (एकीकृत समाजवादी)का अर्का नेता घनश्याम भुसाल निकट समूहले भने छुट्टै वाम अभियानको तयारी गरिरहेको छ।
.gif)

.png)

