मन्त्रिपरिषद्को निर्णय उल्लंघन गर्दै वायुसेवा निगम
काठमाडौँ : सरकारले अत्यावश्यक अवस्थाबाहेक विदेश भ्रमणमा रोक लगाएको छ । तर नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनाको ठूलो टोली चीनको ग्वान्झाउ पठाउने तयारी गरेको छ।
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती र पुनर्निर्माणमा जोड दिँदै राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जनामात्र सदस्य रहने भन्ने निर्णय पनि गरेको थियो ।
तर, निगमले प्रचारप्रसारको नाममा पर्यटन मन्त्रालय, ट्राभल एजेन्सी, पत्रकार, कलाकारसहित प्रभावशाली व्यक्ति भनेर ३ दर्जनभन्दा बढीलाई चीन भ्रमणमा लैजाने तयारी गरेको हो।
ग्वान्झाउमा बिहिबार राति हुने उडानमा निगमले पर्यटन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, निगम सञ्चालक समिति सदस्यहरू, ट्राभल एजेन्सी प्रतिनिधि, कलाकारहरू र पत्रकारलगायतलाई सहभागी गराउँदैछ।
स्रोतका अनुसार ८ जनालाई "सांस्कृतिक कार्यक्रम" को लागि भनेर लगिँदै छ भने निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई "प्रभावशाली व्यक्ति" भनेर टोलीमा समावेश गरिएको छ।
सरकारकै लगानीमा सञ्चालित वायुसेवा निगमले यति ठूलो भ्रमण टोली पठाउनु सरकारकै निर्णयको उल्लंघन हो भन्दै आलोचना भइरहेको छ । तर वायुसेवा निगमले गर्न लागेको ग्वान्झाउ उडान अत्यावश्यक नभएर प्रवर्द्धनात्मक भनिएको छ ।
निगमले अहिले प्रवर्द्धनात्मक उडान गरे पनि ग्वान्झाउमा नियमित उडानको भने टुंगो लागेको छैन । नियमित उडान कहिले र कसरी हुने टुंगो नलाग्दै तडकभडक साथ पहिलो उडान गर्न लागिएको हो ।
.gif)

.png)

