चार जना सञ्चारकर्मी घाइते, एउटा सञ्चारगृहमाथि ढुंगा प्रहार

काठमाडौं । जेनजी पुस्ताको सोमबारको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएका नेपाल पत्रकार महासंघले जनाएको छ । साथै एउटा सञ्चारगृहको भवनमा ढुङ्गामुढा भएको महासंघले जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दीपेन्द्र ढुङ्गाना, स्वतन्त्र पत्रकार शम्भु दङ्गाल र नेपाल प्रेसका उमेश कार्की घाइते भएका हुन् ।
यस्तै थाहा खबर डट कमको कार्यालयमा तोडफोड भएको छ । उक्त घटनाप्रति महासंघले निन्दा र भर्त्सना गरेको छ । घाइते पत्रकारहरूको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
महासंघले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन यसअघि नै सरकारसमक्ष माग राखेकोसमेत जनाएको छ । महासंघले आन्दोलनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
विज्ञप्तिमा मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै दोषीलाई कारबाहीको माग गरेको छ । महासंघले पत्रकारसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र सबैको निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघले प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शनमार्फत आफ्ना माग राख्न र सरकारलाई दमनकारी नीति नलिन र वार्तामार्फत समस्याको समाधान खोज्न आह्वान गरेको छ । यस्तै पत्रकार सम्बद्ध विभिन्न संगठनले पनि सञ्चारकर्मीलाई निर्वाध रूपमा समाचार संकलन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।