‘नेपालले चीनको जीएसआईमा समर्थन गरेको छैन’ 

‘नेपाल सधैँ आफ्नो परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमा आफ्नो नीति अनुसार अघि बढ्छ’


२०८२ भदौ १९ बिहीबार ००:०२ बजे

काठमाडौं :   सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालको समर्थन भन्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले जीएसआई नगरेको जिकिर गरे । 

सचिव राईले नेपाल सधैँ आफ्नो परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमा आफ्नो नीति अनुसार अघि बढ्ने बताए । तर प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तापछि चीनले जारी गरेको विज्ञप्तिमा नेपालले पनि जीएसआईमा समर्थन जनाएको उल्लेख छ। 

सुरक्षा रणनीति तथा सैन्य सहकार्यमा समेत नेपालले सहमति जनाएको भनी चीनको विदेश मन्त्रालयबाट सार्वजनिक भएको धारणा स्वीकार्य नहुने भन्दै प्रतिनिधिसभामा सांसदहरुले पनि बिरोध गरीरहेका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सोबारे चीनद्वारा गरिएको दाबीको यर्थाथबारे सदनमा जानकारी गराउनुपर्ने माग गरेका हुन्।

सचिव राईले त्यस विषयमा स्पष्ट पार्दै भने, ‘चीनका जुन इनिसिएटिभहरु छन्, तीमध्ये ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्सलाई समर्थन गरेको छ। संयुक्त राष्ट्र संघमा यसको ग्रुप अफ फ्रेन्ड्स् जुन गठन भएको छ, त्यसमा नेपाल पनि संंलग्न छ। नेपाल अरु कुरामा नेपालले समर्थन जनाएको छैन। अरु कुराहरुमा नेपाल प्रवेश गरेको छैन। यो कुरामा तपाईँहरु स्पष्ट हुनुहोला।’  

उनले अब भारत भ्रमणको तयारीमा सरकार लाग्ने पनि बताए । ‘अब भारतको तयारीमा लाग्छौं ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै राईले भने, ‘निश्चितै रुपमा ।’ परराष्ट्र सचिव राईका अनुसार, नेपालले सधैँ आफ्ना प्राथमिकता र अडानहरूको तयारी गरिरहने छ ।  सचिव राईले भने, ‘नेपालले जहिल्यै पनि प्राथमिकताहरू, अडानहरू सधैं तयारीमा रहन्छ । परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारीमा रहन्छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७