करिब साढे ६ किलो सुनसहित ११ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले ६ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले ६ किलो चार सय ग्राम सुनसहित सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीय पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार ६६५ रुपैयाँ समेत बरामद भएको उनले बताए । पक्राउ परेका ११ जनालाई नै सुनचाँदीसहित आवश्यक कारबाही एवम् थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए ।
पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कोलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा उनीहरु कार्यरत रहेका थिए ।