कांग्रेस नेता भण्डारीको टिप्पणी : माधव–झलनाथको पद अनुसारको शैली भएन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालबीचको दोहोरीलाई ‘बेमौसमी बाजा’ को भन्दै टिप्पणी गरेका छन् ।
उनले अप्ठ्यारो समयमा पार्टीको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका व्यक्तिहरूबीचको दोहोरी पटकै नसुहाएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयाँ पार्टी बनाएका, आदरणीय माधव नेपालजी र आदरणीय झलनाथ खनालजी बीचको दोहोरी राष्ट्र, जनहितसँग कुनै साइनो नभएको बेमौसमको बाजा जस्तो बनेको छ ।’
नयाँ पुस्ताका लागि आदर्श र अनुकरणीय बन्नु पर्नेमा पद अनुसारको शैली नदेखाएको उनले बताएका छन् । उनले भनेका छन्, ‘यो शैली भएन, प्रयोग गरिएका शब्दले वितृष्णा फैलाएको छ, सुहाएन, तपाईहरू हाम्रो पनि नेता हो, नयाँ पिँडीले के सिक्ने ? के अनुशरण गर्ने ?’
पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका सम्मानीत नेता खनालले एक टेलिभिजनमा दिएको अन्तरवार्ताको विषयलाई लिएर अहिले अध्यक्ष नेपाल र खनालबीच आरोप–प्रत्यारोप र वाकयुद्ध चलिरहेको छ । अहिले उनीहरुबीच एकले अर्कालाई पार्टी छोड्न समेत सुझाव दिनेसम्मको विवाद बढेको छ ।
खनालले टेलिभिजन अन्तरवार्तामा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेको भए पनि विद्रोहको औचित्य अहिलेसम्म पुष्टि गर्न नसकिएको बताएका छन् । जसमा खनालले अध्यक्ष नेपालको मुख्य कमजोरी औंल्याएका छन् ।