उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार (नामावलीसहित)

काठमाडौं । भारतको उत्तराखण्डमा गएको बाढीमा परेका नेपालीहरुमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावासका अनुसार हराई हराइरहेका देहायको सची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै रहेको पाइएको हो।
उद्धार गरिएकाहरूमा बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्, श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान–श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही छन्। उद्धार गरिएकाहरूमध्ये तीन जना हरिद्वार जाँदै गरेको र अन्य उतै बस्ने गरेका थिए।
गत बुधबार दिउँसो आएको भिषण बाढीमा परेर एक सय बढी बेपत्ता छन्। पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ।
धराली समुद्री सतहबाट झण्डै ३,१०० मिटरको उचाइमा छ। यो चारधाम यात्रा मार्ग पनि हो। यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन्। बाढीमा परेर कम्तीमा २२ नेपाली बेपत्ता भएका थिए। अरुको खोजी जारी छ।