सरकारले निःशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको बताए । राज्यको लगानी शिक्षा र स्वास्थ्यमा धेरै कम रहेको र धेरै गर्नसक्ने स्थिति पनि नरहेको उनले बताए ।
योगदान पुर्याउन सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरूरी रहेको उनले बताएका छन् । शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्नसक्ने स्थिति बने पनि ग्रामीण क्षेत्रमा भएको विद्यालयमा पढ्नुको विकल्प नरहेको उनले बताए ।
मन्त्री पौडेलले भने, ‘शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक छ । सरकार मात्रै ले निःशुल्क स्वास्थ्य वा निःशुल्क शिक्षा उपलब्ध गराउन सक्ने स्थिति छैन । खासगरी राज्यले आज जति लगानी गरेको छ, त्यो लगानी असाध्यै थोरै छ । राज्यको लगानी धेरै लगानी गर्नसक्ने खालको पनि छैन । योगदान पुर्याउन सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरूरी छ ।’
उनले भने, यसलाई व्यवस्थित ढंगबाट हामीले अघि बढाउन आवश्यक हुन्छ । शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्न सक्ने स्थिति बनेको छ । तर ग्रामीण क्षेत्रमा जस्तो छ, त्यसको विकल्पको स्थिति बनेको छैन।’ मन्त्री पौडेलले ग्रामीण क्षेत्रलाई मध्यनजर गरी शिक्षालय र स्वास्थ्य संस्थाहरू आफ्नै लगानीमा खोल्न जरूरी रहेको बताए ।