बालुवाटार जान छाडेका दुई महामन्त्रीसँग गृहमन्त्री लेखकको ‘डिनर मिटिङ’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग ‘डिनर मिटिङ’ गरेका छन् । सरकार र गृहमन्त्रीकै कार्यशैलीप्रति असन्तुष्ट महामन्त्रीद्वयसँग गृहमन्त्री लेखकले मेडियट होटलमा डिनर मिटिङ गरेका हुन् ।
यसैबीच आज पार्टी सभापति शेरबहादुर देउवाले पनि महामन्त्रीद्वयसँग छलफल गर्दैछन् । भिजिट भिसा, कुलिङ पिरियड प्रकरणमा आफ्नै दलका मन्त्री र सांसद जोडिएपछि गृहमन्त्रीद्वय असन्तुष्ट रहेको बताइएको छ ।
सरकारले ल्याएका कतिपय विधेयकमा पार्टीभित्र विमति बढिरहेका बेला गृहमन्त्री रमेश लेखकले कांग्रेसका दुई महामन्त्रीसँग बिहीबार साँझ बेग्लै संवाद गरेका हुन् । छलफलका एजेण्डाबारे दुवै पक्षले सामान्य शिष्टाचार र अनौपचारिक भेट मात्र भनेका छन् । पार्टीभित्र संस्थापन पक्षका वरिष्ठ नेताहरूले बेग्लै छलफल चलाइरहेका बेला महामन्त्रीद्धयसँग गृहमन्त्री लेखकको भेट अर्थपूर्ण मानिएको छ ।
गृहमन्त्री र महामन्त्रीद्धयबीच मेरियटमा करिब तीन घण्टाको छलफलपछि राति साढे १० बजे बाहिरिएका थिए । सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय संयन्त्रमा रहेका महामन्त्री थापा पछिल्लो समय बालुवाटार बैठकमा जान छाडेका छन् ।
निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्ने संसदीय विशेष समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई नैतिक र राजनीतिकरुपमा जिम्मेवार ठहर गरेपछि कांग्रेस नेतृत्व दबाब छ ।