काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा पहिरो, रोकिए सयौं गाडी

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका धादिङको जरे खेतमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । गजुरी गाउँपालिका–६ जरेखेत नजिक पहिरो खसेर दुई तर्फी सडक अवरूद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
त्यस ठाउँमा दुई पटक पहिरो खसेको छ । शुक्रबार बिहान सवा ३ बजेतिर एक पटक पहिरो खसेको थियो । डोजरले बिहान ४ बजेतिर उक्त पहिरो पन्छ्याउन सुरू गरेको थियो । ६ बजेतिर फेरि रूखसहित पहिरो खसेर सडक अवरूद्ध भएको भएको थियो ।
त्यस्तै अर्को थाक्रे गाउँपालिका–७ सातकिलोमा पनि पहिरो खसेको छ । पहिरो गएपछि ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सवारीसाधन होल्ड गरेको छ । एसपी सुवेदीका अनुसार साना र ठूला सवारीसाधन कुल ७८० वटा रोकिएका छन् ।
गजुरीमा एक सय, खानीखोलामा एक सय, खत्रीपौवामा ५०, आदमघाटमा २५०, मल्खुमा ८० र विशालटारमा २०० वटा गाडी रोकिएका छन् । ‘बेला–बेलामा पहिरो झरिरहने भएकाले हामीले जोखिम देखेर रोकेका छौं । एम्बुलेन्स जस्ता आपतकालीन सेवाका गाडीहरू रोकिएका छैनन् । साना गाडीहरू कतिपय डाइभर्सनमार्फत पनि पठाएका छौं । खुलाउने प्रयास भइरहेको छ,’ एसपी सुवेदीले भने ।