संसदीय समितिको प्रतिवेदनको मर्म अनुसार खतिवडाबारे पार्टीले निर्णय लिन्छ : महामन्त्री शर्मा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्म अनुसार संलग्नमाथि पार्टीले निर्णय लिने बताएका छन् । ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानीप्रति समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।
समितिले खतिवडाको भूमिका माथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नु पर्ने कांग्रेसभित्र र बाहिरबाट मतहरु आइरहेको छ । खतिवडाको विषयमा पार्टीले चाल्ने कदमका बारेमा महामन्त्री शर्माले भने, ‘समितिले प्रतिवेदनको उल्लेख गरेका विषयलाई दृष्टिगत गरेर पार्टीले आवश्यक निर्णय लिन्छ ।’ खतिवडाका विषयमा पार्टीभित्र छलफल हुने र प्रतिवेदनको मर्म अनुसार निर्णय गरिने महामन्त्री शर्माले स्पष्ट पारे ।
खतिवडा सभापति रहेको समितिमा कुलिङ अफ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भएको थियो । तर, प्रतिनिधि सभाबाट पारित हुँदा समितिबाट पारित भए भन्दा फरक व्यवस्था विधेयकमा राखिएको थियो । विधेयकमा फरक प्रावधान राखेर संसदबाट पारित भएपछि त्यसमा छानविन गर्न संसदीय समिति बनेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा रहेको समितिले तयार गरेको प्रतिवेदन हिजो (मंगलबार) संसदमा पेश गरिएको छ ।