रास्वपालाई तीन ‘अ’ बाट मुक्त हुन कांग्रेस सांसद शर्माको सुझाव
‘रास्वपाका साथीहरुले रविको पालामा मानव तस्करी बढेको भन्न खोज्नु भएको हो ?’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा विशेष समयमा बोल्दै शर्माले रास्वपालाई त्यस्तो सुझाव दिएका हुन् ।
‘रास्वपाका मित्रहरूलाई तीन ‘अ’ बाट मुक्त हुन् मेरो सुझाव छ,’ शर्माले भने, ‘अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस् ।’ उनले भिजिट भिसामा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्याङ्क प्रस्तुत गरेका छन् ।
पछिल्लो समय गृहमन्त्री भएका पाँच जनाको एक सय ५० दिनमा भिजिट भिसामा विदेश जानेको तथ्याङ्क प्रस्तुत गर्दै महामन्त्री शर्माले त्यसमा सबैभन्दा बढी लामिछानेको पालामा बिदेशिएको बताएका हुन् । लामिछाने १६४ दिन गृहमन्त्री बनेका थिए ।
रामबहादुर थापाको पालमा १५० दिनमा २ हजार ६२५ जना भिजिट भिसामा बाहिर गएको शर्माले दाबी गरे । यस्तै बालकृष्ण खाँण गृहमन्त्री बनेको समयमा ७९ हजार १२० भिजिट भिसामा गएको उनले बताए । यो संख्या दिनमा सरदर दिनमा ४६० जना हुने उनले बताए ।
त्यसपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेको १५० दिनमा ९४ हजार १८० जना भिजिट भिसामा गएको उनले डाटा पेस गरे । रमेश लेखक गृहमन्त्री बनेपछिको १५० दिनमा एक लाख १२ हजार ९६५ जना अर्थात् दैनिक ७५३ जना भिजिट भिसाको नाममा विदेशिएका छन् ।
सबभन्दा धेरै रवि लामिछाने गृहमन्त्री बनेको १५० दिनमा एक लाख १६ हजार २०५ अर्थात् दैनिक ७७४ जना भिजिट भिसामा विदेशिएका छन् । शर्माले त्यही तथ्याङ्कका प्रस्तुत गर्दै रास्वपालाई प्रश्न सोध्दै भने, ‘तपाईहरूले आफ्नै सभापति गृहमन्त्री भएको बेलामा हामीले भिजिट भिसामा मानिसलाई बेच्यौ त भन्न खोज्नु भएको होइन । यो मैले भनेको होइन, तथ्याङ्कले त्यही देखाउँछ ।’