राजनीति व्यापार होइन : मुख्यमन्त्री बानियाँ


२०८२ श्रावण २१ बुधबार ११:२६ बजे

हेटौंडा । बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (बुधबार) नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल प्रतिवद्ध रहेको बताए।

‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनको लागि राजनीति गरेको हो ।’ बानियाँले भने, ‘त्यो बाटोमा हामी एक दिन पनि नअल्मल्लिइकन ठिक र सत्य, न्याय र इन्साफ गरिबको निमुखाको सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष सक्रिय रुपमा काम गर्ने प्रतिवद्धता जनाउँदछु ।’

आफूले मुख्यमन्त्री हुँदा प्राप्त गर्ने तलब–भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिदिने पनि बानियाँले घोषणा गरे । मकवानपुर क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित बानियाँले विपन्न र असहाय नागरिकको पहिचान गरी आफ्नो तलबभत्ताको रकमले घर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

कांग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरुलाई स्वागत गरेको हो । मुख्यमन्त्री बानियाँसहित खानेपानी, उर्जा तथा सिंचाईमन्त्री कृष्णकुमार तामाङ र विना विभागी मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

हेटौंडाको सानोपोखरामा रहेको कांग्रेस बागमती प्रदेश पार्टी कार्यालयमा बुधबार पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनलगायतले पार्टी सभापति समेत रहेका मुख्यमन्त्री बानियाँ लगायत मन्त्रीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वगत मन्तव्य व्यक्त गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७