एमाले नेता रिजालको प्रस्ताव : अब मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौं

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता विष्णु रिजालले प्रदेशमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचनको प्रस्ताव राखेका छन् । सामाजिक सञ्जाल एक्समा उनले वर्तमान प्रदेश संरचनाले संघीय प्रणालीलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गर्दै यस्तो धारणा व्यक्त गरेका छन् ।
रिजालले प्रदेशसभालाई ‘मुख्यमन्त्री र मन्त्री उत्पादनको कारखाना’ को संज्ञा दिँदै त्यहाँ सांसदहरूले विभिन्न पदहरू (मुख्यमन्त्री, मन्त्री, सभामुख, समिति सभापति, सचेतक) प्राप्त गर्ने लोभमा रमाइरहेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रदेशसभामा आएपछि मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच वर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको छ । आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि दलका सदस्यको चित्त बुझाउन नसकेर बीचैमा छाड्नु परिरहेको छ ।’
उनले अगाडि भनेका छन्, ‘यसको समाधानका लागि स्थानीय तहमा जस्तै प्रदेश तहमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ । यसबाट संघीयतालाई अलि स्थिर र उपलब्धिमूलक बनाउन सकिन्छ । नत्र संघमा समीकरण परिवर्तन हुँदा प्रदेशमा असर त पर्दछ नै, प्रदेशमै कुरा नमिल्दा पनि मुख्यमन्त्री परिवर्तन भइरहँदा यसले आम मानिसमा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गराइरहन्छ ।’