जङ्गली जनावर धपाउन खेतबारीमै बास

बैतडी । जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ ।
बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पुर्याउने गरेको छ ।
दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए । मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ ।
उनले भने, ‘रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन ।’
भर्खरै घोगा लाग्न लागेको मकैबाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए ।
बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ ।
ती स्थानीय तहमा किसानलाई मकैबाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताए ।
हरेक वर्ष मकैबालीमा जङ्गली जनावरले क्षति पुर्याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए। उनले भने, ‘मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकैबाली जोगाउन धौ–धौ परेको छ । हरेक वर्ष मकैबाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।’
बैतडीमा १२ हजार एक सय हेक्टरमा मकैखेती गरिन्छ । जङ्गली जनावरकै कारण मकैखेती गर्ने किसानको संख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् । रासस