गुल्मीका तीन वटा मुख्य सडकहरू अवरुद्ध


२०८२ श्रावण १९ सोमबार ०७:२९ बजे
फाइल फोटो

गुल्मी । अविरल वर्षाका कारण गए रातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका हुन् । 

कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।  लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिए । 

उक्त क्षेत्रमा अहिले पनि लगातार रूपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका  बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई  बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७