अमेरिकाले नेपालमा एमसीसीलाई निरन्तरता दिने


२०८२ श्रावण ११ आइतबार १९:४० बजे

काठमाडौं  । अमेरिकी सरकारले नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अघि बढाउने निर्णय गरेको छ । 

नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाएको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिए । अमेरिकी सरकारले गरेको समीक्षा बैठक अनुसार नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसीसी परियोजना निरन्तरता गर्ने निर्णय गरेको उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको प्रशासनिक खर्च कटौती गर्ने निर्णय अनुसार गत अप्रिलमा एमसीसी बन्द गर्ने निर्णय गरेको थियो । नेपालसहित २० मुलुकमा सञ्चालित यो कार्यक्रमलाई ३ महिनाका लागि स्थगित गरिएको थियो । तर, नेपालमा भने एमसीसी कार्यक्रम कहिल्यै नरोकिएको शर्माले बताए । 

अमेरिकी दूतावासका अनुसार ५० करोड अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६८ अर्ब ५० करोड रुपैयाँ) बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९ करोड ७० लाख अमेरिकी डलर (करिब २७ अर्ब रुपैयाँ) को योगदानले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा टेवा पुर्‍याउँछन् । 

सुरुमा एमसीसीले नेपालको प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधार आयोजनाका लागि भन्दै ५० करोड डलर अनुदान दिने गरी नेपाल र अमेरिकाबीच सम्झौता (कम्प्याक्ट) मा हस्ताक्षर भएको थियो । त्यसमा नेपाल सरकारले १३ करोड डलर योगदान गर्ने उल्लेख थियो । एमसीसीको सहयोगमा बन्ने परियोजनाका लागि त्यति रकम अपुग हुने भएपछि नेपालले आफ्नो योगदान बढाएर १९ करोड ७० लाख डलर पुर्‍याएको छ ।

त्यति रकमले पनि प्रसारण लाइन परियोजना लागत अनुसार अपुग हुने भएपछि गत जनवरी २ मा एमसीसीको बोर्डले नेपाललाई थप ५ करोड डलर दिने भनेर निर्णय गरेको थियो । त्यसबारे उसले अमेरिकी कंग्रेसलाई पनि जानकारी गराएको थियो ।

तर, त्यो रकम आउने–नआउने विषयमा भने अहिलेसम्म स्पष्ट छैन । ‘थप ५ करोड डलरबारे नेपालको मन्त्रिपरिषद्ले पनि निर्णय गर्नुपर्छ, जुन भएको छैन, त्यसो हुँदा रकमबारे अहिल्यै भन्न सकिने अवस्था छैन,’ अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख शर्माले भने ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७