कांग्रेस पदाधिकारी बैठक : रुपन्देही–३ उपनिर्वाचनमा बालकृष्ण खाँणको सम्भावना कति ?

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे केन्द्रित रहेको छ ।
उपनिर्वाचनबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी बाहेक रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई समेत बैठकमा बोलाएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले उपनिर्वाचनको विषयमा छलफल भएको जानकारी दिएका हुन् ।
रुपन्देही ३ मा बालकृष्ण खाँणको सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा केसीले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन । सम्भावना क–कसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला । तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ ।’
कांग्रेस पदाधिकारी बैठकमा पार्टीका तर्फबाट रहेका मन्त्रीहरू पनि सहभागी थिए । तर मन्त्री फेरबदलका विषयमा कुनै छलफल नभएको जिकिर केसीले गरे । बैठकमा नेता शेखर कोइराला पनि सहभागी भएका थिए । त्यस्तै २०७९ सालमा भएको निर्वाचनमा त्यो क्षेत्रबाट तत्कालीन गठबन्धनको उम्मेदवार बन्दै पराजित नेता बालकृष्ण खाँण पनि बैठकमा उपस्थित छन् । बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारी
बाहेकका गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी समेत सहभागी छन् । खड्का आमन्त्रित केन्द्रीय सदस्य र अधिकारी केन्द्रीय सदस्य मात्रै हुन् ।
अधिकारीसँग मलको अभाव र खडेरीबाट आहतमा परेका किसानलाई राहत कसरी उपलब्ध गराउन सकिन्छ र खड्कासँग जगदुल्ला हाइड्रोपावरको ठेक्काबारे जानकारी लिन बोलाइएको स्रोतले बताएको छ । रुपन्देही ३ को निर्वाचनमा खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका थिए । बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।