प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : दिन गनेर नबस्नुस्

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न प्रधानमन्त्री केपी शर्मा ओलाीलाई आग्रह गरेका छन् ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पटक अब एक वर्ष मेरो त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गरेको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको बताए । उनले शुरुमा दुई पार्टी मिलेर राम्रो कामको शुरुवात गरे पनि अहिले बरालिएको बताए । अहिले सरकार खालि दिन गनेर बस्ने जस्तो मात्रै भएको टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताए । ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताए ।
महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीजीले बेला बेलामा के भनेको सुन्छु भने–अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु । त्यो हिसाव कितावको बारेमा अब कुरा नगरौं । सरकार भनेको दिन गनेर बस्ने हो र ?’
उनले कांग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने स्पष्ट पारे । महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महसुस गर्नेगरी काम गरेर देखाउनुपर्ने बताए ।