मादी नदी पुलको काम अन्तिम चरणमा


२०८२ असार ३२ बुधबार १५:०८ बजे

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

‘उक्त पुलमा छ वटा स्पान हुनेछ । ३१५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो,’ उनले भने । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए ।

‘मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ । आँबुखैरेनी–जामुनेसम्मको ४१.४५ किलोमिटर कालोपत्र सकिएको छ,’ उनले भने । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ । केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताए । सामाजिक कार्य गर्दै आएको संस्थाका अध्यक्ष विक्रम विकले जानकारी दिए । शिविरले शिविर संचालन गरिएको क्षेत्र आसपासका नागरिकको स्वास्थ्य अवस्थाको जानकारी भएको र नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्ने सन्देश दिएको उनले बताए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७