लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छ : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको बताएका छन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए ।
सडकहरू गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको उनले बताए । नेपालले पेट्रोल डिजेलमा अर्बौं रूपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरू सञ्चालन गर्नेकुरा राम्रो भएको उनको भनाइ छ ।
उनले भने, ‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौं रूपैयाँ खर्च गरिसक्यौं । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो । लोकतन्त्र आएपछि धेरै डेभलपमेन्टहरू मैले देखेको छु ।’ वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भए पनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताए । बसको मात्रा र बसको स्ट्याण्डर बढ्न जरूरी रहेको उनले बताए ।