‘प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आएको आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नु भयो’

‘मन्त्री मण्डल पुनर्गठन सामान्य कुरा’


२०८२ असार ३२ बुधबार १४:४२ बजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरिसकेको बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको भन्ने आरोप निराधार रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरू प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन् । आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको नभनेको बताएकी थिइन् । त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ ।

यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरू हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिसकेको छ । प्रधानमन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ । सोही सम्बन्धमा सञ्चारकर्मीहरूले गरेका प्रश्नमा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारसंहिता नै रहेको र भ्रम फैलाइएकोमा सांसद स्वयंले आत्मालोचना गरिसकेको बताए ।

उनले भने, ‘संसदमा प्रश्न गर्नु भएको माननीय ज्यूले एक खालको आत्मालोचना गर्नु भएको छ । मैले त्यसो भनेको होइन भनेको होइन भन्नु भएको छ । प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो । सम्माननीय प्रधानमन्त्री ज्यूको आचारसंहिता नै छ—कति जना लैजाने, के लैजाने भन्ने । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ ।’

मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीबाट बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् । प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२ सै आना गलत भएको बताए ।

‘मन्त्री मण्डल पुनर्गठन सामान्य कुरा’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्री मण्डल पुनः गठन गर्ने कुरा सामान्य प्रक्रिया रहेको बताएका छन् । सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले यस्तो बताएका हुन् । स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनः गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा उनले मन्त्री मण्डल गठन, पुनःगठन गर्ने कुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरूको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने उल्लेख गरेको पनि बताए । 

एक वर्ष आफूहरूले कुनै दायाँबायाँ नभइ र उत्तारचढाव नभइ बिताएको पनि उनले जानकारी दिए । सरकारले एक वर्षको समयमा उपलब्धिमुलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको उनको भनाइ छ । मन्त्री गुरूङले बजेटको डुप्लिकेसन बन्द भएको दाबी गरे । बिना अध्ययन योजना राख्ने काम बन्द भएको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७