ओली सरकारले भ्रष्टाचारमा पीएचडी गर्‍यो : राजन दाहाल


२०८२ असार २८ शनिबार १८:१२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले वर्तमान सरकार जनताको नजरमा ढलिसकेको बताएका छन् । उनले अंक गणित र कानुनी रूपमा सरकार कायम रहे पनि नैतिक र व्यावहारिक रूपमा पूर्णरुपमा असफल भएको दावी गरे ।

रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद दाहालले ओली सरकारले एक वर्षमा भ्रष्टाचार र कुशासनमा ‘पीएचडी’ गरेको आरोप लगाए । ‘यो सरकार अंकगणित र कानुनी हिसाबले छ, तर जनताको नजरमा छैन, जनताको नजरमा सरकार ढलिसक्यो । विकास निर्माणमा, सार्वजनिक सेवा प्रवाहमा र अन्तर्राष्ट्रिय जगतमा सरकारको उपस्थिति देखिँदैन,’ उनले भने ।

सांसद दाहालले सरकार भ्रष्ट र बिचौलियाको संरक्षणमा केन्द्रित रहेको गम्भीर आरोप लगाएका छन् । ‘यो सरकारको सफलता भनेको भ्रष्टहरूको रक्षा गर्ने हो । जेलमा रहेका भ्रष्टहरूलाई छुटाइयो तर सरकार र सरकार प्रमुखसँग जोडिएका व्यक्तिहरूका फाइल खोलिएका छैनन्,’ उनले भने । उनले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टी–स्टेट जस्ता ठूला भ्रष्टाचारका फाइलहरू नखोलिएकोमा आपत्ति जनाएका छन् ।

सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै दाहालले आर्थिक कुशासन बढेको दाबी गरे । ‘एक वर्षमा करिब ६ खर्ब सार्वजनिक ऋण थपिएको छ, तर एक खर्ब पनि विकास बजेट खर्च भएको छैन,’ उनले भने । असार मसान्तमा बजेट सक्न देखाइने ‘असारे विकास’ केवल कमिसनका लागि भएको उनको आरोप थियो । दाहालले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुमै भने जस्तै यो सरकार बिचौलिया र माफियाको जगमा बनेकाले जनताप्रति उत्तरदायी नभएको पुष्टि भएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७