त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शैंया थप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शैंयाको आकष्मिक ‘वार्ड’ र आधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रु २० करोडको लागतमा सेवा सञ्चालनको प्रबन्ध भएको हो । त्यस अवसरमा मन्त्री पौडेलले शिक्षण अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुलभ ढङ्गले सेवा प्राप्त हुने भन्दै अस्पतालको सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।
‘एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शैंया थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैंया पुर्याएको हौँ’, उनले भने । अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले एमआरआई सुविधा अस्पतालमा उपलब्ध भएकाले अब महँगो शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताए ।