सबै भन्दा ठूलो हत्याको बिल्ला भिरेको छु : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले टीकापुर घटनामा आफूलाई सबैभन्दा ठूलो हत्याराको बिल्ला भिराइएको गुनासो गरेका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताए ।
आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको भन्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको जिकिर गरे । ‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु, मार गाली गर्छन्,’ चौधरीले भने, ‘टीकापुर घटनामा सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु । मेरो परिवारको बच्चा मर्यो, बच्चाको हत्यारा भन्छन् । हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौं ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी उनको छ । चौधरीले भने ‘मान्छे मार्नेहरू उनैसँग छन् फेरि । सँगसँगै छन् । उनले मार्यौँ पनि भन्छन्।’ चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरुसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरुको भोट चलाउने प्रपञ्च भइरहेको जिकिर गरे ।