एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरुको अक्सनमा सहभागी हुन खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ । नेपाल क्रिकेटसंघ (क्यान) ले शनिबार विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरुलाई अक्सनमा सहभागी हुन अनुरोध गरेको हो ।
दर्ता शुल्क प्रतिखेलाडी १ हजार तोकिएको छ भने दर्ता गर्ने अन्तिम म्याद साउन ६ गते सम्म रहेको छ । हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीहरूले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ । अक्सनका लागि खेलाडीहरूलाई तीन श्रेणी (ए, बी र सी) मा वर्गीकरण गरिएको छ ।
खेलाडीहरूले आफ्नो इच्छा अनुसार उपयुक्त श्रेणी रोजी नाम दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्र राजनीति गर्ने थलो होइन भन्दै खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लाई चेतावनी दिएको पर्सीपल्टै क्यानले सूचना जारी गरेको हो ।
एनपीएललाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) बीच विवाद चलिरहेको छ । मन्त्री चौधरीले एनपीएलको विवादको अनुसन्धान गर्न आफू निकट राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । सोही कार्यदलले अख्तियारले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको थियो ।
सोही विषयमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले विहिबार खेलकुद मन्त्रीलाई खेल क्षेत्रमा राजनीति नगर्न चेतावनी दिएका थिए । एनपीएलको भब्य तयारी हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भनेका थिए–‘एनपीएलको भब्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनु पर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ । देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानु पर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनु पर्छ ।’