घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ ।
गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए । पछिल्लो समय आफूखुसी घर निर्माण गर्दा मौलिकता मासिएको भन्दै घर निर्माणमा निश्चित मापदण्ड तोक्नु परेको उनले बताए ।
गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घर तथा भवन निर्माण गर्दा भित्तामा सेतो र घरको छत (बोर्डर), झ्याल, ढोकाको रङ कालो हुनुपर्ने नियम बनाएको छ । यो नियम पालना नगरिए त्यस्ता व्यक्तिलाई कारबाही गरिने समेत गाउँपालिकाले जनाएको छ । ‘जिल्लाको पहिचान नै यहाँका ढुङ्गा र माटोले निर्मित परम्परागत घरहरू हुन् । पछिल्लो समय आधुनिकताका कारण त्यही पहिचान मासिँदै गएको छ । त्यसैले नियम लागू गर्नुपरेको हो’, अध्यक्ष विष्टले भने ।
नियम पालनाका लागि पालिकाले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्ग लक्षित अनुदानको व्यवस्था समेत गरेको छ । ‘हामीकहाँ गुम्बाको रङ रातो र पहेँलो, व्यक्ति र समुदायका घर सेतो र कालो हुन्छ’, उनले भने, ‘त्यही पुरानो संस्कृति संरक्षण हुनुपर्छ भनेर यस्तो निर्णय गरेका हौँ । क्षमता नभएकालाई सहयोगको नीति पनि छ । पक्कै यसले प्रोत्साहन गर्नेछ ।’
यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँबस्तीका घरको भौतिक संरचना ढुङ्गा र माटोले निर्मित छन् । यहाँ सदियाँैदेखिको घरका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन छ । पछिल्लो समय यहाँ कंक्रिटका घर निर्माण हुने क्रम बढ्दो छ ।