‘जबज’ केबल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई सुखी र समृद्ध बनाउनु पर्ने बताएकी छिन् । मदन भण्डारी फाउन्डेसनले आज (शनिबार) गरेको जर्नल विमोचन कार्यक्रममा उनले वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई समृद्ध बनाउनु पर्ने बताएकी हुन् ।
‘वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता प्रदान गर्दै सुखी र समृद्ध बनाउनु पर्छ,’ उनले भनिन्, ‘जबजको मूल भावना पनि यही हो ।’ जनताको बहुदलीय जनवाद (जबज) राजनीतिक सिद्धान्त मात्रै नभएर दार्शनिक चिन्तन समेत भएको उनले बताइन् ।
‘जबज केबल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन, यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो,’ उनले भनिन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेकपा एमाले पनि जबजकै सिद्धान्तअनुसार अगाडि बढेको उनले बताइन् ।