मधेस प्रदेशसभामा छैटौं दिन पनि प्रतिपक्षी दलको अवरोध
कार्यदलको संयोजक पदबाट सभामुखले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशसभामा कार्यदलको विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेका छन् । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदलप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरुले आज छैठौं दिन पनि प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउँदै संसद अवरुद्ध पारेका हुन्। बजेटमाथि छानविनका लागि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरुले आजको बैठकमा समेत अवरोध गरेका हुन् । पछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरे ।
सभामुख मण्डलले अब समय नरहेकाले आफू कार्यदलको संयोजक पदबाट राजीनामा दिएको सदनलाई जानकारी गराए । उनले कार्यदलले विभिन्न काम गर्नुपर्ने भएकाले अब समय अभावका कारण आफू संयोजक पदमा रहन नसक्ने बताए ।
माओवादी केन्द्रका सांसद युवराज भट्टराईले आफूहरु कार्यदल गठनमा सहमत भएको बताउँदै उनले मुख्यमन्त्रीले यसमा प्रतिबद्धता समेत जनाएको तर त्यसलाई नमानेको आरोप लगाए । उनले बजेटमा भएको त्रुटिहरूलाई छानविन गर्न कार्यदलमा मन्त्रीको नाम आएकाले आफूहरूले आपत्ति पनि जनाएको र मन्त्रीको नाम नहटाएसम्म त्यसको विरोध जनाउने बताए ।
उनले प्रतिपक्षी दल लचिलो भएपनि सरकार पक्षले त्यसलाई बेवास्ता गरेको आरोप लगाए । सभामुख मण्डलले सदन धेरै अवरुद्ध भएकाले अब यसरी नचल्ने बताउँदै प्रदेशसभालाई सञ्चालन गर्न खोजेपछि प्रतिपक्षी दलका सांसदहरूले रोस्टम घेराउ गरेपछि सभामुख मण्डलले बैठक अवरुद्ध गरे ।
उनले आर्थिक विधेयक पुरा हुन दिन भन्दै छलफलमा उठेको प्रश्नको जवाफ दिन अर्थमन्त्री सुनिलकुमार यादवलाई रोस्टममा आउने भनेका थिए । तर प्रतिपक्षी दलका सांसदहरु रोस्टम अगाडि गएर उभिएपछि बैठक स्थगित भएको हो। सभामुख मण्डलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि कुनै छलफल नै नभई अर्थमन्त्रीलाई छलफलमा उठेको प्रश्नको जवाफ दिन समय दिएका हुन् । असार मसान्तसम्म आव २०८२/०८३ को बजेट सदनबाट पास गर्नुपर्ने प्रावधान छ ।