क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति
2025-07-07-12-40-24.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीको खेलप्रतिको समर्पण, लगाव र मेहिनतको प्रतिफल भएको उल्लेख गरे ।
उनले सिङ्गापुरसँग भएको फाइनलमा एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले हामीले हाम्रा परम्परागत खेललाई पुरष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकतर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरे । उनले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक रहेको बताए ।