काभ्रेबाट भक्तपुर आउने वैकल्पिक सडकमा पुण्यमाता खोलाको पुल भाँचियो


१२:०५ बजे

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुण्यमाता खोलाको पुल भाँचिएपछि गए रातिदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने यो सडक पूर्वतर्फबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । यो पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको पुल भाँचिएको हो । पुल भाँचिएपछि सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७