एसियन कपमा छनोट हुन उज्वेकिस्तानसँग भिड्दै नेपाल


१२:२७ बजे

काठमाडौं । एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज घरेलु उज्वेकिस्तानसँग खेल्दैछ । उज्वेकिस्तानको तास्केन्तमा शनिबार राति ९ः१५ बजे नेपाल र उज्वेकिस्तान आमनेसामने हुँदैछन् ।

नेपालको लागि शनिबारको खेल जित्नै पर्ने हुन्छ । यो खेल जिते नेपाल एएफसी वुमन्स कपमा पुग्नेछ । जारी प्रतियोगितामा नेपालले  उत्कृष्ट प्रदर्शन गरिरहेको छ । साबित्रा भण्डारी साम्बाको कप्तानीमा भएको नेपाली टोलीले अघिल्लो दुई खेलमा  लाओसलाई ९ र श्रीलंकाविरूद्ध ८ गोल गर्‍यो ।

समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकालेको छ । उसले पहिलो खेलमा श्रीलंकालाई १०–० गोलले हराउँदा बुधबार लाओसलाई ७–० गोलले हरायो । समूहमा नेपाल र उज्वेकिस्तान दुवैले ६–६ अंक जोडेका छन् । दुवैले १७–१७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन् ।

समूहबाट एक टोली मात्र एसियन कपमा पुग्ने भएकाले आगामी शनिबार नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच हुने खेल निर्णायक हुनेछ । सो खेल राति सवा नौ बजे हुनेछ । दुवै टोलीको जित र गोलअन्तरको स्थिति समान छ । त्यसैले शनिबारको खेल बराबरीमा सकिएमा खेल पेनाल्टीमा पुग्ने एएफसीको नियम छ । किनभने हेड टु हेड, गोल अन्तर र धेरै गोल गरेको अवस्था सबैमा नेपाल र उज्वेकिस्तान बराबरीमा छन् ।

फिफा वरीयताको आधारमा हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो । उज्वेकिस्तानको महिला टोली फिफा वरीयतामा ५१ औं स्थानमा छ । नेपाल भने १००औं स्थानमा छ । हेड टु हेडमा पनि उज्वेकिस्तान अघि छ । उसले नेपालसँग खेलेका तीनै खेलमा जित निकालेको थियो । नेपालविरूद्ध उज्वेकिस्तानले ११ गोल गरेको छ । नेपालले भने ३ गोल मात्र गर्न सकेको छ । 

सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल र उज्वेकिस्तानबीच पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो। सो कपमा नेपाल र उज्वेकिस्तान दुई पटक भिडेका थिए । समूह चरण नेपालले २–० को हार बेहोर्दा फाइनलमा पनि ३–२ गोलले पराजित भएको थियो । यस पटक घरेलु मैदानको फाइदा हुने उज्वेकिस्तान एसियन कप खेलिसकेको टोली हो। उसले ५ पटक एसियन कप खेलिसकेको छ । सन् २००३ पछि भने उसले एसियन कप खेल्न सकेको छैन । त्यसो त उज्वेकिस्तान २०२९ महिला एसियन कपको आयोजक समेत हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७