माधव नेपाललाई सुदेशको आग्रह : ओली षड्यन्त्र हामी सामना गर्छौं, तपाई खुट्टा नकमाउनुस्
झाँक्रीलाई लक्षित गर्दै भने, ‘स्टन्टबाजी हेर्दैछौं, समय आएपछि गुन तिर्छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै आफूहरुले डटेर सामना गर्ने बताएका छन् ।
उनले भने, ‘कानूनको चौघेराभित्र न्याय हरायो भने त्यसको आक्रोश ठूलो हुन्छ । यो पार्टीलाई सत्ताको दुरुपयोग गरेर विघटन गर्न चाहिरहेका थिए, तर माधव नेपाल हेर्दा कोमल हुनुहुन्छ, विचार र सिद्धान्तमा दृढ भएकाले उहाँको आँटले यो पार्टी यहाँसम्म आएको छ । अब तपाईले खुट्टा कमाउने होइन, हिम्मत हार्ने होइन।’
पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले कानूनी सर्वोच्चतालाई भने स्वीकार्ने बताएका छन्। माधव नेपालसँग सिङ्गो पार्टी पंक्ति रहेको भन्दै सुदेशले प्रधानमन्त्री ओलीले अख्तियारको दुरुपयोग गरेको भन्दै त्यसको हिसाबकिताब गर्ने बताए।
झाँक्रीलाई लक्षित गर्दै भने, ‘स्टन्टबाजी हेर्दैछौं, समय आएपछि गुन तिर्छौं’
पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले केही मान्छेहरू पार्टी नेतृत्वमाथि प्रहार गर्न थालेको भन्दै आपत्ति जनाएका छन् । पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीतर्फ इंकित गर्दै ‘सेलिब्रेटी बन्न र स्टन्टबाजी’ गर्न मूल नेतृत्वमाथि प्रहार भएको बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा दर्ता भएसँगै अध्यक्ष माधव नेपालमाथि विशेष अदालतबाट ३५ लाख धरौटी माग गर्दै छाडिएको थियो । सोही विषयलाई लिएर स्थायी कमिटी सदस्य झाँक्रीले रुपन्देहीमा पुगेर अध्यक्ष नेपालमाथि दिएको अभिव्यक्तिलाई लिएर पार्टी पंक्तिमा आलोचना सुरु भएको थियो । लगत्तै, पार्टी अनुशासन विभागले उनलाई स्पष्टीकरण पनि सोधेको छ ।
‘कोही–कोही मान्छेहरू सेलिब्रेटि बन्न र स्टन्टबाजी गर्नका लागि हाम्रो पार्टीका मूल नेतामाथि प्रहार गर्न थालेका छन्,’ झाँक्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै पराजुलीले भने, ‘म भन्न चाहन्छु, यो देशमा समकालीन राजनीतिमा निष्कलंक मान्छे भनेको कमरेड माधव नेपाल मात्रै हो । यसमा कुनै द्वीविधा छैन ।’ उनले बजारमा भइरहेका यस्ता स्टन्टबाजी गरिरहेको भन्दै समय आएपछि गुन तिर्ने पनि बताए । ‘हामीले बजारमा गएर स्टन्टबाजी गरिरहेको हेरिरहेका छौं । समय आएको छैन । समय आएपछि राम्रैसँग गुन तिर्न आउँछ,’ पराजुलीले भने ।