हेटौँडामा फेरि अर्का वडाध्यक्षमाथि आक्रमण, विरोधमा भोलि उपमहानगर बन्द

वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्ने एक जना पक्राउ, अन्यको खोजी जारी


०५:०५ बजे

हेटौँडा । हेटौँडामा एक वडाध्यक्षमाथि कुटपिट भएको महिना दिन नबित्दै फेरि अर्का वडाध्यक्षमाथि आक्रमण भएको छ। हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार (आज) सार्वजनिकस्थलमै हातपात भएको हो । उनलाई एक निर्माण व्यवसायी महिलाले सार्वजनिकस्थलमै आक्रमण गरेकी हुन् ।

हेटौँडा– ४ स्थित हेटौँडा क्याम्पस अगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला आफूमाथि हातपात भएको वडाध्यक्ष सिग्देलले जानकारी दिएका छन् । निर्माणका विषयमा सामान्य वादविवाद भैरहेका बेला उनले भिडिओ खिचेको र उक्त भिडियो नखिच्न आग्रह गर्दा पनि भिडिओ बन्द नगरेपछि विवाद उत्पन्न भएको वडाध्यक्ष सिग्देलको भनाई छ ।

‘भिडिओ नखिच्नु भन्दा मान्नु भएन, आग्रह गर्दा नमानेपछि मोबाइल तान्न म गएकै हो,’ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष सिग्देलले भने, ‘सोही बेला मोबाइल एक्कासी भुँइमा खस्न पुग्यो । त्यसपछि म माथि निरन्तर गाला र घाँटीमा आक्रमण गरियो ।’ सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको उनको दाबी छ ।  

लामो समयदेखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजीकरण गरिरहेको समयमा विवाद गर्दै ती महिलाले आफूमाथि हातपात गरेको वडाध्यक्ष सिग्देलले बताए । महिला हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा छन् । उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । बिहीबारको उक्त घटनापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ ।

यस्तै, हेटौँडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारबाही नभएको भन्दै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । यता एक महिनाअघि हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ असारमा वडा अध्यक्ष न्यौपानेकै कार्यकक्षमा आक्रमण गर्ने एक जनालाई पक्राउ गरेको हो । गत बुधवार राति ती आक्रमणकारीलाई हेटौँडा–३ स्थित लेवटको जम्बु चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

उनका अनुसार भाग्ने तयारी गर्दैगर्दा एक जना पक्राउ परेका र अन्य भने चाल पाएर फरार भएको प्रवक्ता अर्यालले बताएका छन् । प्रवक्ता अर्यालले ती आक्रमणकारीको पहिचान खुलाएका छैनन् । सबै जना पक्राउ परेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ । 

भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेका थिए । टाउकोमा प्रहार गरी मोविल पनि छ्यापिदिएका थिए । उनीहरूले वडाध्यक्ष न्यौपानेको दुई थाप मोबाइल समेत लगेका थिए । वडाध्यक्ष न्यौपानेलाई आक्रमण गर्ने व्यक्तिलाई पक्राउ नगरिएकोमा आलोचना भइरहेको थियो । फरार रहेकाको खोजी जारी रहेको जनाइएको छ । केही दिन अघि हेटौँडा–१ स्वर्गलोकको सार्वजनिक जमिनमा घरटहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो । सोही कारण आक्रमण भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७